मेरा दुईटा शत्रु छन्, जो मसँग कहिले खुल्दै खुल्दैनन्।
म रुँदा हाँस्दछन्, म हाँस्दा रुँदछन्,
म भन्छु, उदाउँछ सूर्य पूर्वबाट, तर तिनीहरू भन्छन्, होइन, पश्चिमबाट।
किनकि उनीहरू मेरा शत्रु हुन्, म जे भन्छु, उनीहरू मान्दैनन्।
आफूले जानेर पनि जान्दैनन्।
उनीहरू भन्दछन्, मेरो घरमा आगो नहरहराओस्,
मेरो घरको भान्साबाट मीठो सुगन्ध नआओस्।
उनीहरू भन्छन्, मेरा बचेराहरूले बोल्दै नबोलून्,
मेरो घरको अँध्यारो कुनामा चुपचाप बसून्।
सूर्यको उज्यालो प्रकाश हेर्दै नहेरून्,
र कहीं कतै कसैसँग खुल्दै नखुलून्, सखीसँग रम्दै बाल खेल नखेलून्।
किनकि उनीहरू मेरा शत्रु हुन्, म जे भन्छु, उनीहरू मान्दैनन्।
आफूले बुझेर पनि बुझ्दैनन्।
एउटा शत्रु पर्दछ अलि टाढाकै, तर अर्को भने मेरो आफ्नै पर्दछ।
त्यसैले त कहिलेकाहीँ छिमेकमा आई, बुझ्दै जाल बुन्ने गर्दछ।
छिमेकीको घरको कौसीमा चढी मतिर, धारे हात लगाउने गर्दछ।
म बस्दछु चुपचाप अनि ऊ सराप्ने गर्दछ, “तेरो घरमा काल पसोस्,
नौमसान, पिशाच, प्रेतात्मा, दरिद्र, रोग अनि भोकमरीको बास बसोस्।”
पुग्दैन उसलाई यत्तिले, आडम्बरिले फेर्दछ सास गर्वको।
अझ ऊ अगाडि भन्दछ, “अकालमै मरोस् अनि बास होस् नर्कको।”
यस्तै गर्दछ अनि आनन्द मान्दछ,
किनकि ऊ मेरो शत्रु हो, म जे सोच्दछु, ऊ सोच्दैन।
म जे मान्दछु, ऊ मान्दैन।
ऊ भन्ने गर्दछ, मेरी श्रीमतीको रूप मरोस्।
सोच्दछ सदा, उनको यौवनको बैँस झरोस्।
कल्पदै गाली गर्दछ, फलिसकेको मकैको बोटझैँ सुकून्।
लुटियोस् इज्जत उनको अनि समाजबाट चेहरा लुकोस्।
किनकि ऊ मेरो शत्रु हो, म जे सोच्दछु, ऊ त्यो सोच्दैन।
म जे मान्दछु, ऊ त्यो मान्दैन।
मेरो जीवनले प्रगतिको पथ लिँदा, उनीहरूलाई पर्नु पीर पर्दछ।
मेरो आँखामा खुसी अनि ओठमा हाँसो छल्कँदा, उनीहरूको मन पोल्ने गर्दछ।
मानौँ मेरो दुःखनै उनीहरूको जीवनको सफलताको खुसी हो।
मेरो असफलतानै उनीहरूको सर्वोच्च शिखरको गर्व हो।
मेरो मनभित्र अदृश्य आगो बाल्नुनै उनीहरूको मर्म हो।
भत्भती पोलेको अनि दनदनी बल्ने मनको आगोमा घिउ थप्नुनै उनीहरूको कर्म हो।
किनकि उनीहरू मेरा शत्रु हुन्, म जे भन्छु, उनीहरू मान्दैनन्।
आफूले बुझेर पनि बुझ्दैनन्।
— देव डाँगी
तपाईको प्रतिक्रिया