विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट, चार जनालाई सहिद घोषणा
काठमाडौं,साउन २६
सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्दै आएको स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकभित्र आयात वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स तथा शव वाहनलाई यस्तो कर छुट दिने निर्णय गरेको हो।
बैठकले सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गनेश कुमार यादव रहेका छन्।
यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी विवादबारे पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको २०८० सालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ।
तपाईको प्रतिक्रिया