२०८३, भदौ १३ शनिबार
समाज

तनहुँमा विभिन्न मुद्दाका पाँच प्रतिवादी पक्राउ

प्रकाशित मिति: २०८३, साउन २० बुधबार/ Wednesday 08-05-26

तनहुँ, साउन २०

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत तनहुँमा उपस्थित गराएको छ।

प्रहरीले मंगलबार विशेष खोजतलास अभियान सञ्चालन गर्दै जिल्ला अदालत तनहुँबाट फैसला कार्यान्वयनका क्रममा फरार रहेका तीन जना तथा फरक–फरक मुद्दामा फरार रहेका थप दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये तीन जना अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादी हुन्। उनीहरूमध्ये दुई जनालाई जनही १० हजार रुपैयाँ र एक महिलालाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यसैगरी, अभद्र व्यवहार मुद्दाको वारदातपछि फरार रहेका एक जना प्रतिवादी र आपराधिक उपद्रव मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरू व्यास नगरपालिका–३, व्यास नगरपालिका–४ तथा ऋषिङ गाउँपालिकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतबाट फैसला भई फरार रहेका तथा विभिन्न मुद्दामा फरार प्रतिवादीलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

प्रहरीका अनुसार मंगलबार पक्राउ परेकामध्ये चार जना फैसला कार्यान्वयनसँग सम्बन्धित प्रतिवादी र एक जना अभद्र व्यवहार मुद्दाको वारदातपछि फरार रहेका प्रतिवादी हुन्।

 

तपाईको प्रतिक्रिया