२०८३, भदौ १३ शनिबार
राजनीति

१४ दिनपछि आज बस्दै प्रतिनिधिसभा बैठक

प्रकाशित मिति: २०८३, साउन १४ बिहीबार/ Thursday 07-30-26

काठमाडौं, साउन १४ 

लगातार दुई साताको अन्तरालपछि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद्को अवरोध अन्त्य गर्दै विधेयकमाथिको छलफल र कानुन निर्माण प्रक्रियालाई गति दिने उद्देश्यका साथ बैठक आयोजना हुन लागेको हो।

बैठकअघि बुधबार सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका थिए। छलफलमा संसद्मा विचाराधीन विधेयकलाई छिटो अघि बढाउने, सदनको कामकारबाही व्यवस्थित गर्ने तथा राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण बनाउने विषयमा परामर्श भएको जनाइएको छ।

यसैबीच, बुधबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, आर्थिक र सामाजिक क्षेत्रसँग सम्बन्धित ९ वटा विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार ती विधेयक चालु अधिवेशनबाटै अघि बढाउने तयारी गरिएको छ, जसले संसद्को कार्यसूचीलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, सभामुख अर्यालले हालै निधन भएका प्रतिनिधिसभाका पूर्वसदस्य, संविधानसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया