२०८३, भदौ १३ शनिबार
राजनीति

स्वकीय सचिवको पारिश्रमिक जनसेवामा खर्च गर्ने सांसद न्यौपानेको घोषणा

प्रकाशित मिति: २०८३, साउन ४ सोमबार/ Monday 07-20-26

तनहुँ , ४ साउन

प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले स्वकीय सचिवलाई यसअघि आफ्नै स्रोतबाट उपलब्ध गराउँदै आएको पारिश्रमिक बराबरको रकम अबदेखि तनहुँ–१ का जनताको हित, आवश्यकता र प्राथमिकतासँग सम्बन्धित सामाजिक तथा जनसेवामूलक कार्यमा खर्च गर्ने घोषणा गरेका छन्।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा सांसद न्यौपानेले नेपाल सरकारले जनप्रतिनिधिका स्वकीय सचिवलाई तलब–भत्ताको सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएसँगै सो सुविधाबापतको तलब–भत्ता स्वकीय सचिव स्वयंले बुझ्ने व्यवस्था गरिएको जानकारी दिएका छन्। उम्मेदवारी दर्ताअघि नै आफ्नै व्यवस्थापनमा स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले उक्त रकम अबदेखि सार्वजनिक हितका कार्यमा परिचालन गर्ने निर्णय गरिएको बताएका छन्।

न्यौपानेले प्रतिनिधि सभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने आफ्नो तलब–भत्ता भने यसअघि झैँ तनहुँ–२ का जनताको हित, आवश्यकता र प्राथमिकताका क्षेत्रमा खर्च गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राज्यकोषबाट प्राप्त हुने नगद सुविधालाई व्यक्तिगत लाभका रूपमा नभई जनसेवा, जनउत्तरदायित्व र सार्वजनिक हितका क्षेत्रमा सदुपयोग गर्ने आफ्नो नीति यथावत् रहेको उल्लेख गर्दै उनले जनविश्वासलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

विज्ञप्तिमार्फत न्यौपानेले आफूले सार्वजनिक रूपमा गरेका विभिन्न प्रतिबद्धता पुनः स्मरण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुअघि कुनै पनि सरकारी ठेक्का नलिने घोषणा गरेको र त्यसलाई निरन्तर पालना गर्दै आएको, गत प्रतिनिधि सभा निर्वाचनमा कुनै व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग नलिई चुनाव लडेको, निर्वाचित भएदेखि नै आफ्नो तलब–भत्ता तनहुँ–२ को जनहितमा खर्च गर्दै आएको तथा प्रत्येक तीन महिनामा स्थानीय तहमा पुगेर जनसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरेका छन्।

त्यसैगरी, अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने आफ्नो निर्णय यथावत् रहेको र तनहुँ जिल्लामा अधिकतम पुँजीगत खर्च सुनिश्चित गर्ने उद्देश्यले आगामी साउन महिनादेखि प्रत्येक तीन महिनामा विकास आयोजनाको प्रगति विवरण सार्वजनिक गर्ने तथा आवश्यकताअनुसार आयोजना अनुगमन गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।

सांसद न्यौपानेले आफ्ना सबै प्रतिबद्धता इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया