पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना फाइनल प्रवेशका लागि भिड्दै
FIFA बिश्वकप, असार ३१
फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबलका दुई पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना बुधबार अमेरिकाको एटलान्टा स्टेडियममा आमनेसामने हुँदैछन्। यस खेलको विजेताले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ।
इंग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ भने साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा अघि बढिरहेको छ।
इंग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४–२ ले हराउँदै प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको टोलीले पानामालाई २–० ले पराजित गर्दै समूह विजेता बन्यो।
.jpg)
नकआउट चरणमा कङ्गो डीआरलाई पुनरागमन गर्दै हराएको इंग्ल्यान्डले अन्तिम १६ मा सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै पनि पाखा लगायो। क्वार्टरफाइनलमा नर्वेविरुद्ध २–१ को पुनरागमन जित निकाल्दा जुड बेलिङ्घमले दुवै गोल गरेका थिए।
अर्जेन्टिनाले भने समूह चरणमा अल्जेरियालाई ३–० ले हराउँदै उपाधि रक्षा अभियान सुरु गरेको थियो। त्यस खेलमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्तासँग बराबरी गरेका थिए। त्यसपछि उनले अस्ट्रिया र जोर्डनविरुद्ध पनि गोल गर्दै कीर्तिमान आफ्नै नाममा पारे l
नकआउट चरणमा अर्जेन्टिनाले अतिरिक्त समयमा काबो भेर्दे र इजिप्टलाई समान ३–२ ले हरायो। क्वार्टरफाइनलमा पनि अतिरिक्त समयमै जुलियन आल्भारेज र लाउटारो मार्टिनेजको गोलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
इंग्ल्यान्ड पछिल्ला तीन विश्वकपमध्ये दोस्रो पटक सेमिफाइनलमा पुगेको हो। यसअघि टोली सन् २०१८ मा क्रोएसियासँग अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो। सन् १९९० मा पनि सेमिफाइनलमै रोकिएको इंग्ल्यान्डले सन् १९६६ मा मात्रै विश्वकप उपाधि जित्दै फाइनल खेलेको थियो।
कप्तान ह्यारी केन फेरि एकपटक टोलीका प्रमुख आशा बनेका छन्। उनले प्रतियोगितामा हालसम्म ६ गोल गरेका छन्। बेलिङ्घमले पनि समान ६ गोल गरेका छन्, जससँगै एउटै विश्वकपमा एउटै टोलीका दुई खेलाडीले कम्तीमा ६–६ गोल गरेको यो पहिलो अवसर बनेको छ। मार्कस रासफोर्डले पनि एक गोल गरेका छन् भने एन्थोनी गोर्डन र बुकायो साकाले समान तीन–तीन असिस्ट दिएका छन्।
तीन पटकको विश्वविजेता अर्जेन्टिना विश्वकप इतिहासमा लगातार दुई संस्करण जित्ने पहिलो टोली बन्ने लक्ष्यमा छ। ब्राजिलले सन् १९६२ पछि कुनै पनि टोलीले विश्वकप उपाधि जोगाउन सकेको छैन। अर्जेन्टिना विश्वकपमा छैटौँ पटक सेमिफाइनल खेल्दैछ र यसअघि खेलेका पाँचै सेमिफाइनल जित्दै फाइनल पुगेको इतिहास छ।
मेस्सी अर्जेन्टिनाको आक्रमणको केन्द्रबिन्दु बनेका छन्। यद्यपि टोलीको सफलतामा अन्य खेलाडीको पनि महत्वपूर्ण योगदान रहेको छ। प्रतियोगितामा अर्जेन्टिनाका थप सात खेलाडीले गोल गरेका छन् भने आठ खेलाडीले असिस्ट दिएका छन्। रक्षापंक्तिमा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको जोडी मजबुत देखिएको छ भने गोलकिपर एमिलियानो मार्टिनेज फेरि एकपटक भरपर्दो प्रदर्शन गर्दै टोलीका प्रमुख आधार बनेका छन्।
नेपालि समय अनुसार भोलि राती १२:४५मा हुने यो रोमाञ्चक भिडन्तको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले यसअघि सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
तपाईको प्रतिक्रिया