२०८३, भदौ १३ शनिबार
विचार/ब्लग

व्यास नगरपालिकाका स्रोत कक्षाहरू : समावेशी शिक्षाको सबल अभ्यास र उज्ज्वल सम्भावना

प्रकाशित मिति: २०८३, असार ७ आइतबार/ Sunday 06-21-26

व्यास नगरपालिकाभित्र सञ्चालित विशेष विद्यालय तथा स्रोत कक्षाहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्दै समावेशी शिक्षाको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छन्। विशेष आवश्यकता भएका बालबालिकाहरूलाई उनीहरूको क्षमता, आवश्यकता र सिकाइको गतिअनुसार शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएका यी संस्थाहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

हाल गरिएको अवस्था अध्ययन तथा अनुगमनका क्रममा श्री चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयको दृष्टिविहीन स्रोत कक्षा, श्री जनसेवा प्राथमिक विद्यालयको बौद्धिक अपाङ्गता दिवा सेवा स्रोत कक्षा, श्री बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालय, श्री सिद्धबेनी माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता आवासीय स्रोत कक्षा तथा श्री सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाको समग्र अवस्था अवलोकन गरिएको थियो।

अनुगमनबाट प्राप्त तथ्यहरूले यी विद्यालयहरूमा कार्यरत शिक्षक, सहयोगी कर्मचारी तथा विद्यालय प्रशासनले सीमित स्रोतसाधनका बीच पनि विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान पुर्‍याइरहेको देखाएको छ। विद्यार्थीहरूमा विद्यालयप्रतिको आकर्षण, नियमित उपस्थिति, सिकाइप्रतिको रुचि तथा व्यवहारिक सीप विकासका लागि गरिएका प्रयासहरू उत्साहजनक पाइए।

श्री चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूले ब्रेल लिपिको माध्यमबाट अध्ययन गर्दै मूलप्रवाह शिक्षामा समावेश हुने अवसर प्राप्त गरिरहेका छन्। दृष्टिसम्बन्धी चुनौती हुँदाहुँदै पनि उनीहरूमा आत्मविश्वास, अनुशासन र सिकाइप्रतिको उत्साह उच्च देखिएको छ। विशेष गरी अतिरिक्त क्रियाकलाप तथा सांगीतिक क्षेत्रमा विद्यार्थीहरूको सहभागिता प्रेरणादायी रहेको पाइयो। यस विद्यालयले दृष्टिविहीन विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन गरेको प्रयास प्रशंसनीय देखिन्छ।

श्री जनसेवा प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता दिवा सेवा स्रोत कक्षाले बालबालिकाको व्यक्तिगत सरसफाइ, सामाजिक व्यवहार, आत्मनिर्भरता तथा दैनिक जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण भूमिका खेलेको देखियो। स्रोत शिक्षक र सहयोगी कर्मचारीले बालबालिकाको स्याहार, संरक्षण तथा शिक्षणमा गरेको समर्पणले विद्यालयप्रति अभिभावकहरूको विश्वास बढाएको छ। विशेष गरी बालिकाहरूको व्यवस्थापन र संरक्षणको पक्ष सन्तोषजनक पाइयो।

श्री बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयले बहिरा तथा सुस्तश्रवण बालबालिकाहरूलाई नेपाली सांकेतिक भाषाको माध्यमबाट शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले टाढा-टाढाबाट आएका विद्यार्थीहरूका लागि आवासीय सुविधा समेत सञ्चालन गरी शिक्षामा पहुँच विस्तार गरेको छ। विद्यार्थीहरूमा सञ्चार सीप, आत्मअभिव्यक्ति तथा सामाजिक सहभागिता विकास गर्न विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ। शिक्षकहरूको लगनशीलता र सांकेतिक भाषामार्फत शिक्षण गर्ने अभ्यास यस विद्यालयको प्रमुख सबल पक्षका रूपमा देखिएको छ।

श्री सिद्धबेनी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बौद्धिक अपाङ्गता आवासीय स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूको क्षमता र आवश्यकता फरक–फरक भए पनि विद्यालयले उनीहरूलाई व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा केन्द्रित गरेको पाइयो। विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने, दैनिक जीवनका आधारभूत सीप सिकाउने तथा सामाजिक व्यवहार विकास गर्ने कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखिन्छ। आवासीय व्यवस्थापन र सहयोगी कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण रहेको पाइयो।

त्यसैगरी, श्री सिन्धु आधारभूत विद्यालयमा सञ्चालित विशेष कक्षाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई व्यवहारिक सिकाइ, व्यक्तिगत सरसफाइ, सामाजिक घुलमिल तथा आत्मनिर्भर जीवनशैली विकासमा केन्द्रित गर्दै आएको छ। विद्यालयमा अपाङ्गता भएका र नभएका बालबालिकाबीच देखिएको अपनत्व, सहकार्य र सहअस्तित्वको भावना समावेशी शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा देखियो। शिक्षकहरूको धैर्यता र निरन्तर प्रयासका कारण विद्यार्थीहरूमा सकारात्मक सुधार देखिएको पाइयो।

समग्र मूल्याङ्कन गर्दा व्यास नगरपालिकाभित्र सञ्चालित यी पाँचवटै विशेष विद्यालय तथा स्रोत कक्षाहरूले अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। शिक्षक, विद्यालय प्रशासन, सहयोगी कर्मचारी तथा अभिभावकहरूको समर्पणले विद्यार्थीहरूमा आत्मविश्वास, आत्मनिर्भरता र सिकाइप्रतिको रुचि विकास गर्न सहयोग पुगेको छ। यद्यपि आधुनिक शैक्षिक सामग्री, प्रविधिमैत्री उपकरण, अपाङ्गतामैत्री पूर्वाधार, स्वास्थ्य सुरक्षा तथा थप स्रोतसाधनको आवश्यकता अझै रहेको देखिन्छ।

समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायहरूबीचको सहकार्यलाई थप मजबुत बनाउन आवश्यक छ। आवश्यक स्रोतसाधन, प्रविधि र पूर्वाधारको व्यवस्थापन गर्न सकिएमा चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय, जनसेवा प्राथमिक विद्यालय, बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालय, सिद्धबेनी माध्यमिक विद्यालय तथा सिन्धु आधारभूत विद्यालय विशेष शिक्षाका नमुना केन्द्रका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना रहेको देखिन्छ। यी विद्यालयहरूले गरिरहेको प्रयास समावेशी, समानतामूलक र मानवीय समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ।

– ईश्वर बास्तोला
लेखाजोखा संयोजक, व्यास नगरपालिका

 

तपाईको प्रतिक्रिया