स्रोत कक्षाका विद्यार्थीको स्थानान्तरण र सीप सिकाइ : अबको बाटो र चुनौती
ईश्वर बास्तोला
विशेष आवश्यकता भएका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउन व्यास नगरपालिका अन्तर्गत सञ्चालित स्रोत कक्षाहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर, पछिल्लो समय यी स्रोत कक्षाहरूमा एउटा गम्भीर र व्यावहारिक चुनौती सतहमा आएको छ, जुन बढ्दो उमेरका विद्यार्थीहरूको व्यवस्थापन र उनीहरूको सिकाइ सुनिश्चिततासँग जोडिएको छ। हालै बुद्ध दाहाल बहिरा विद्यालयबाट स्थानान्तरणको पर्खाइमा रहेकी विद्यार्थी नबिना रानाभाटको सन्दर्भले यस विषयमा सरोकारवालाहरूको गम्भीर ध्यान खिचेको छ, जसले समग्र स्रोत कक्षाहरूको वर्तमान अवस्था र नीतिगत सुधारको आवश्यकतालाई उजागर गर्दछ।
श्रवण र वाक अपाङ्गताका साथै बहुअपाङ्गता भएकी नबिना रानाभाटको पारिवारिक पृष्ठभूमि निकै संवेदनशील र चुनौतीपूर्ण रहेको छ। आमाले अर्कै विवाह गरेर गएपछि र बुवाले पनि अर्की श्रीमती ल्याई छुट्टै बस्न थालेपछि नबिनाको अभिभावकत्व र हेरचाहको सम्पूर्ण जिम्मेवारी उनकी फुपू गङ्गादेवी रानाभाट र पुसाउ (फुपाजु) महेन्द्र रानाभाटको काँधमा आएको छ। विद्यालयको अभिलेख अनुसार नबिना वि।सं। २०६७ सालमा विद्यालय भर्ना भएकी थिइन्। लामो समय एउटै कक्षा र परिवेशमा बिताउँदा पनि उनको उमेरअनुकूल शैक्षिक सुधार हुन सकेन। उमेर परिपक्व हुँदै जाँदा र सिकाइको स्तर स्थिर रहँदा उनलाई अब कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने सवाल खडा भएपछि व्यास नगरपालिकाका शिक्षा प्रमुख केदारराज आचार्य, बुद्ध दाहाल विद्यालयकी प्रधानाध्यापक कमला पौडेल, लेखाजोखा संयोजक तथा नबिनाका तर्फबाट संरक्षकत्व निभाइरहेका फुपू गङ्गादेवी र फुपाजु महेन्द्र रानाभाटबीच सरोकारवाला बैठक बसेर गहन छलफल भएको थियो। छलफलले उमेर धेरै भएकै कारण मात्र विद्यार्थीलाई विद्यालयबाट हटाउन नमिल्ने र यदि स्थानान्तरण गर्ने हो भने विद्यालयले स्पष्ट आधारसहितको स्थानान्तरण प्रमाणपत्र तयार गरिदिनुपर्ने निर्णय गर्दै अन्ततः नबिनालाई आगामी दिनमा मित्रता तर्फ लैजाने सल्लाह र निष्कर्ष निकालेको छ।
स्रोत कक्षाहरूको सामान्य नियम र अभ्यास अनुसार कक्षा १ देखि ५ सम्म साधारणतया १५ वर्षसम्मका विद्यार्थीहरूलाई राख्ने गरिन्छ र त्यसपछि उनीहरूलाई माध्यमिक वा उच्च तहका स्रोत कक्षाहरूमा पठाउने नीतिगत व्यवस्था छ। व्यास नगरपालिकाका स्रोत कक्षाहरूबाट यसअघि उमेर अलि बढी भएका र माध्यमिक तहमा जानुपर्ने विद्यार्थीहरूलाई आवश्यकता अनुसार गोरखा सिर्जना बहिरा विद्यालय, पोखरा तथा स्थानीय रूपमा सिद्धबेनी र महेन्द्र ज्योति जस्ता विद्यालयहरूमा स्थानान्तरण गर्ने अभ्यास रहँदै आएको थियो। विगतका दिनहरूमा उमेर पुगेका तर शैक्षिक प्रगति न्यून भएका विद्यार्थीहरूका अभिभावकलाई बोलाएर परामर्श दिने, उनीहरूलाई जीवनोपयोगी सीप सिकाउने र समाजमा पुनःस्थापित हुन सक्ने बनाई घर पठाउने सकारात्मक अभ्यास समेत गरिन्थ्यो।
वास्तवमा नबिना रानाभाटको घटना त केवल एउटा प्रतिनिधि उदाहरण मात्र हो। परिस्थिति खोज्ने हो भने हाम्रा स्रोत कक्षाहरूमा अहिले पनि धेरै विद्यार्थीहरू उमेरले परिपक्व भइसकेका तर उनीहरूको बौद्धिक वा सिकाइ क्षमता प्राथमिक तहकै स्तरमा रोकिइरहेको अवस्था छ। किशोर अवस्था पार गरिसकेका विद्यार्थीहरूलाई साना बालबालिकाहरूसँगै एउटै कक्षामा राखिरहँदा उनीहरूको मनोविज्ञान र अन्य बालबालिकाको सिकाइमा समेत अप्रत्यक्ष असर परिरहेको हुन्छ। केवल अक्षराङ्कन र कक्षा वृद्धि मात्र विशेष विद्यालयको उद्देश्य हुन नसक्ने भएकाले उमेर ढल्किँदै गएका विद्यार्थीहरूका लागि आत्मनिर्भर बन्ने व्यावसायिक वा स्वरोजगारमूलक सीपको खाँचो खड्किएको छ। यसका लागि बुद्ध दाहाल बहिरा विद्यालयले आफ्ना विद्यार्थीहरूको उमेर समूह, नाम र वर्तमान सिकाइ अवस्थाको स्पष्ट विवरण अध्यावधिक गरी पठाउनु आवश्यक देखिन्छ, ताकि सोहीअनुसार आगामी योजना तय गर्न सहज होस्।
उमेर बढेसँगै शैक्षिक सुधार नदेखिएका विद्यार्थीहरूलाई केवल विद्यालयमा रोकिराख्नु वा स्पष्ट विकल्पविना बिदा गर्नु दुवै न्यायसङ्गत हुँदैन। अबका दिनमा विद्यालयहरूले आफ्ना स्रोत कक्षामा रहेका विद्यार्थीहरूको उमेर र सिकाइ अवस्थाको पारदर्शी रिपोर्ट तयार पार्नुपर्छ। उमेर पुगेका विद्यार्थीहरूका लागि शैक्षिक र व्यावसायिक मार्ग स्पष्ट रूपमा छुट्याउँदै माध्यमिक तहमा जान सक्नेलाई उपयुक्त स्रोत कक्षामा स्थानान्तरण गर्ने र शैक्षिक सुधार हुन नसक्नेहरूलाई उचित परामर्श र सीप सिकाइमार्फत आत्मनिर्भरतातर्फ डोर्याउनु नै आजको मुख्य आवश्यकता हो। व्यास नगरपालिका, शिक्षा शाखा र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त प्रयासबाट मात्र नबिना जस्ता विशेष र पारिवारिक रूपमा जोखिममा रहेका बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न सकिन्छ। नबिना रानाभाटको घटनाबाट पाठ सिक्दै अबका दिनमा ठुलो उमेर समूहका विद्यार्थीहरूको व्यवस्थापनका लागि दीर्घकालीन नीति र कार्ययोजना बनाउनु अपरिहार्य देखिन्छ।
(लेखाजोखा संयोजक, व्यास नगरपालिका)
तपाईको प्रतिक्रिया