२०८३, भदौ १३ शनिबार
विचार/ब्लग

त्यो अभिशप्त रात: जसले मभित्रको छोरालाई मार्‍यो !!

लेखक: देव डाँगी
प्रकाशित मिति: २०८३, बैशाख २२ मंगलबार/ Tuesday 05-05-26

 

यो घटना आजभन्दा झण्डै १२ वर्षअघिको हो, सन् २०१४ तिरको। त्यो समय, जब मेरी आमाका दुवै मिर्गौला पूर्ण रूपमा निष्क्रिय भए र हप्ताको दुई पटक अनिवार्य डायलासिस गर्नुपर्ने कठोर अवस्थाले हाम्रो परिवारलाई ग्रस्त बनायो। त्यतिबेला म स्वयं चरम आर्थिक अभाव र असहाय परिस्थितिसँग जुधिरहेको थिएँ। एउटा डायलासिसको खर्च मात्र करिब ७ हजार रुपैयाँ पर्थ्यो। हप्तामा दुई पटकको उपचारले मेरो सीमित आम्दानीलाई पूर्णतः थिलथिलो बनाइदिएको थियो। आमाको उपचार र घरपरिवारको दैनिकी धान्न मैले दिनरात श्रम गर्नुपर्थ्यो। चाहेर पनि आमासँग पर्याप्त समय बिताउने सौभाग्य मबाट खोसिएको थियो।

समयक्रमसँगै आमाको स्वास्थ्य निरन्तर अधोगतितिर धकेलिँदै गयो। एक दिन, मध्यरातको निस्तब्धतामा आमालाई एक्कासि असह्य पीडाले च्याप्यो। मेरो आर्थिक अवस्था यस्तो थियो कि न त ट्याक्सी बोलाउने सामर्थ्य थियो, न त एम्बुलेन्सको खर्च व्यहोर्ने। अन्ततः, मैले बिरामी आमालाई आफ्नै मोटरसाइकलमा राखेर शिक्षण अस्पताल पुर्‍याउने निर्णय गरें। त्यो यात्रामा आमाले भोग्नुपरेको पीडाको गहिराइ म आजसम्म कल्पनासमेत गर्न सक्दिनँ।

त्यो समय हाम्रो देशमा प्रभावकारी स्वास्थ्य बीमा प्रणालीको सर्वथा अभाव थियो—सायद आज पनि त्यो प्रश्न पूर्ण रूपमा समाधान भएको छैन। शिक्षण अस्पतालको डायलासिस विभागमा पुग्दा ‘बन्द छ’ भन्ने निस्संग सूचना सुन्नुपर्‍यो। त्यहाँ उपस्थित एक नर्ससँग जिज्ञासा राख्दा उनले शुष्क स्वरमा भनिन्, “हाम्रो हड्ताल चलिरहेको छ।” आमाको नाजुक अवस्थालाई दृष्टिगत गर्दै उनले ड्युटीमा रहेका चिकित्सकसँग फोनमार्फत परामर्श गर्छु भनिन्। तर चिकित्सकको जवाफले मेरो मनको अन्तिम आशाको डोरीसमेत चुँडियो—“अहिले केही गर्न सम्भव छैन। हामी सबै हड्तालमा छौं। हड्ताल सकिएपछि मात्र ल्याउनुहोला।”जन्मदात्री आमाको त्यो दयनीय अवस्था देख्दा म आफ्नै अस्तित्वप्रति घृणाले भरिएँ। म एक निरीह प्राणीझैं पूर्णतः लाचार र निष्क्रिय बनेको थिएँ। विकल्पविहीन अवस्थामा, म आमालाई सिनामंगलतर्फको अर्को अस्पतालतिर लिएँ—केही आशाको क्षीण किरण खोज्दै। तर त्यहाँ पनि उही उत्तर दोहोरियो, “हड्ताल छ, केही गर्न सकिँदैन।” त्यहाँकी एक नर्सले ‘जोरपाटी अस्पतालमा सम्भवतः सहयोग हुन सक्छ’ भन्ने सल्लाह दिइन्।

म त्यो झिनो आशाको तानाबाना समातेर त्यहाँ पुगें। तर नियतिको क्रूर व्यङ्ग्य हेर्नुहोस् “कुनै बेड उपलब्ध छैन” भन्दै हामीलाई पुनः निराश बनाइयो। सबैतिरबाट निराशा, पीडा र आक्रोशको ज्वार बोकेर अन्ततः बिहानको करिब ४ बजे म आमालाई घर फर्काएर ल्याएँ।केही महिनापछि, मेरी आमाले यो संसार सधैंका लागि त्याग्नुभयो। एउटा छोराका लागि त्योभन्दा गहिरो घाउ र असह्य पीडा के हुन सक्छ?आज, म करिब एक दशकदेखि रोजगारीका सिलसिलामा अमेरिकामा बसोबास गरिरहेको छु। यहाँ मैले एक विकसित राष्ट्रको मानवीय संवेदनशीलता, उत्तरदायित्व, पारदर्शिता र सुदृढ प्रणालीलाई नजिकबाट अनुभूत गर्ने अवसर पाएको छु। यहाँ आपसी सम्मान, श्रमको गरिमा र हरेक पेशाप्रतिको समान दृष्टिकोण स्पष्ट देखिन्छ।

यथार्थमा, देश निर्माण भावनात्मक नाराभन्दा बढी स्पष्ट दृष्टिकोण, स्वच्छ सोच र दृढ नीतिगत प्रतिबद्धतामा आधारित हुने रहेछ। साँचो नेतृत्व त्यो हो, जसले आफ्ना स्वार्थभन्दा माथि उठेर राष्ट्र र नागरिकलाई सर्वोपरि ठान्छ। यहाँ भेटिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मेहनत, अनुशासन र प्रगति प्रेरणादायी छ। उनीहरूले छोटो अवधिमै आर्थिक सबलता हासिल गरेका छन्, किनकि यहाँ श्रमको उचित मूल्याङ्कन हुन्छ। मेहनतीलाई अवसर र योग्यतालाई सम्मान प्रदान गरिन्छ।

यहाँ श्रम गर्नेले पारिश्रमिक पाउँछ, पूँजी भएकाले लगानीको अवसर पाउँछ र सक्षमले विस्तारको बाटो पाउँछ। यस्ता संरचनाहरूको आधार भनेको सुदृढ सुशासन प्रणाली हो। र यस्तो प्रणालीलाई जीवित राख्न जिम्मेवार नेतृत्वसँगै विवेकशील, सचेत र देशप्रेमी नागरिक अपरिहार्य हुन्छन्—न कि अन्धानुकरण गर्ने पार्टीका कार्यकर्ता।यो मेरो व्यक्तिगत कथा मात्र होइन; यो त समग्र राष्ट्रको पीडादायी यथार्थको प्रतिबिम्ब हो। त्यो समयको राज्य संयन्त्र, नेतृत्वको अदूरदर्शिता र प्रणालीगत विफलताले सिर्जना गरेको त्रासदीको नाङ्गो चित्र हो जहाँ सत्ता र संरचनाले जनतालाई सेवा होइन, उपेक्षा र बेवास्ताको शिकार बनायो।

यो केवल एउटी आमाको मृत्युको कथा होइन; यो हजारौं आमाहरूको साझा पीडा हो, जसले प्रणालीगत लापरवाहीका कारण अकालमै जीवन गुमाए। यो त्यस्तो घाउ हो, जसले मेरो अन्तरमनमा फलामको कीलाझैं गाडिएको छ जसले हरेक क्षण चसक्क घोचिरहन्छ। यसले मलाई आत्मग्लानि र लज्जाबोधले ग्रस्त बनाउँछ, किनकि म आफ्नी आमाको पीडाको मौन साक्षी मात्र बनेँ उपचार गर्न नसक्ने निरीह छोरा बनेँ।

आज पनि त्यो सम्झना आउँदा मेरो मनमा आक्रोशको ज्वाला दन्किन्छ। किनकि त्यो क्षण यस्तो थियो, जहाँ मानवता मृतप्रायः भइसकेको थियो, विवेक शून्यमा परिणत भएको थियो र समानतामाथि असमानताको निरङ्कुश शासन थियो।आज देशले राजनीतिक रूपान्तरणको चरण पार गरिरहेको छ। यसले केही आशा र सम्भावना अवश्य जन्माएको छ। तर, आम नागरिकको मनमा अझै पनि गहिरो संशय विद्यमान छ। किनकि राज्यका संरचनामा पुराना जरा अझै गडेर बसेका छन्—उस्तै सोच, उस्तै व्यवहार, उस्तै प्रवृत्ति, उस्तै लोभ र उस्तै अहंकार। यस सन्दर्भमा, आजको प्रमुख प्रश्न यही हो के वर्तमान सरकारले ती गहिरा जरामा गाडिएका विकृतिहरूलाई पूर्ण रूपमा उखेलेर फाल्न सक्ला? साथै, हामी नागरिकमाथि पनि उत्तिकै महत्वपूर्ण प्रश्न उभिएको छ के हामी सरकारका सकारात्मक प्रयासलाई समर्थन गर्दै गलत कार्य र प्रवृत्तिप्रति निरन्तर खबरदारी गर्न सक्षम छौं? यही सचेत नागरिकताको अभ्यासले मात्र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छ।

अब यो कथा केवल मेरी आमामा सीमित छैन। यो त हजारौं आमाहरूको प्रतिनिधि कथा हो—जसले अव्यवस्थित प्रणालीका कारण पीडादायी मृत्यु वरण गर्न बाध्य भए। अन्त्यमा, मेरी आमा लगायत यसरी नै पीडाले मृत्युवरण गर्न पुगेका सम्पूर्ण आमाहरूप्रति हृदयदेखि नै सम्मान व्यक्त गर्दछु। ती सम्पूर्ण आमाहरूको आत्माले स्वर्गमा बास पाओस् भनी चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

 

 

तपाईको प्रतिक्रिया