२०८३, भदौ १३ शनिबार
राजनीति

मन्त्रिपरिषद् निर्णय: सिरहा र सुनसरी घटनाका पीडितलाई राहत, लगानी बोर्डमा नयाँ नियुक्ति

प्रकाशित मिति: २०८३, साउन २० बुधबार/ Wednesday 08-05-26

काठमाडौं,साउन २० 

सरकारले सुनसरी र सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राहत तथा क्षतिपूर्तिको रकम भने पछि निर्धारण गरिनेछ। प्रदर्शनका क्रममा सुनसरीमा तीन जना र सिरहामा एक जना गरी चार जनाको मृत्यु भएको थियो।

मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। तत्कालीन उपकुलपति केसरजंग बरालको राजीनामापछि उनले केही समय त्रिभुवन विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

त्यसैगरी, आयोगको सचिवमा प्रा.डा. रोजीन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उनलाई उक्त जिम्मेवारी दिइएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

यसैबीच, बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी कार्य सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको हो।

ग्यास आपूर्तिमा देखिन सक्ने तत्कालीन समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय संयन्त्र गठन गरिएको हो।

संयन्त्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमका तर्फबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया