२०८३, भदौ १३ शनिबार
राजनीति

रास्वपा व्यास नगर समितिको निर्णयप्रति राजु दाहालको आपत्ति

प्रकाशित मिति: २०८३, साउन १८ सोमबार/ Monday 08-03-26

तनहुँ,साउन १८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि राजु दाहालले आफ्नो सदस्यता खारेजीका लागि गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाउँदै त्यसविरुद्ध कानुनी तथा लोकतान्त्रिक माध्यमबाट प्रतिकार गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा दाहालले आफूविरुद्ध तथ्यभन्दा बाहिर रहेर आधारहीन आरोप लगाइएको दाबी गरेका छन्। उनले यस्तो प्रक्रिया लोकतान्त्रिक मूल्य, प्राकृतिक न्याय र संगठनात्मक मर्यादाको भावनाविपरीत रहेको उल्लेख गरेका छन्।

दाहालले व्यावसायिक कारण देखाउँदै पार्टीबाट केही समय विश्राम लिँदा दिएको निवेदन तथा पुनः सदस्यता नवीकरणका क्रममा दिएको निवेदनको विवरण सार्वजनिक गर्न चुनौती दिएका छन्। ती निवेदनको मर्मविपरीत कपोलकल्पित र मनगढन्ते शब्द प्रयोग गरी कथित कारबाहीको प्रक्रिया अघि बढाइएको उनको आरोप छ।

रास्वपाको सुरुआती चरणदेखि आफू इमान्दार कार्यकर्ताका रूपमा आबद्ध रहँदा पनि पक्षपातपूर्ण व्यवहार भएको उनको दाबी छ। उनले निर्वाचनका क्रममा पार्टी र तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेप्रति कटाक्षपूर्ण अभिव्यक्ति दिने व्यक्तिहरू पुरस्कृत भएको, पार्टीको उच्च तहमा मनोनयन गरिएको तथा सीमित व्यक्तिको पदलोलुपताका कारण पार्टीको उद्देश्यविपरीत गुटबन्दी मौलाएको आरोप समेत लगाएका छन्।

दाहालले आफूहरू अन्यायको मौन दर्शक नबन्ने उल्लेख गर्दै सत्य, न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा आवश्यक परे कानुनी तथा लोकतान्त्रिक सबै माध्यमबाट सशक्त प्रतिकार गरिने बताएका छन्। साथै परिवर्तनका पक्षधर युवालाई एकताबद्ध र सक्रिय रहन आग्रह गर्दै आफ्नो अभियान पार्टीविरुद्ध नभई पार्टीभित्र मौलाएको गलत प्रवृत्तिविरुद्ध रहेको बताएका छन्।

यस विषयमा रास्वपा व्यास नगर समितिको धारणा भने यसअघि नै सार्वजनिक भइसकेको छ। समितिले दाहालमाथि पार्टी हितविपरीत गतिविधि गरेको, गुटबन्दीमा संलग्न भएको तथा नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको सदस्यता खारेजीका लागि जिल्ला कार्यसमितिमार्फत अनुशासन आयोगमा सिफारिस गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया