२०८३, भदौ १३ शनिबार
प्रदेश समाचार

लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरियो, पाँच मन्त्रीको राजीनामा सोमबार मुख्यमन्त्रीलाई बुझाइने

प्रकाशित मिति: २०८३, साउन १० आइतबार/ Sunday 07-26-26

बुटवल, १० साउन 

केन्द्रमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता साझेदारीको सहमति बनेपछि त्यसको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि परेको छ। सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्। उनीहरूले आफ्नो राजीनामा पत्र नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बुझाएका हुन्।

कांग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचै मन्त्रीको राजीनामा प्राप्त भइसकेको छ। ती राजीनामा सोमबार औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष पेश गरिनेछ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। यसअघि एमाले र कांग्रेसको संयुक्त सरकार सञ्चालनमा रहेकामा कांग्रेसका २७ सांसद सरकारबाट बाहिरिएका छन् भने अब १३ सांसद रहेको नेकपा सरकारमा सहभागी हुने भएको छ। नयाँ सत्ता समीकरणमा एमालेका २९ र नेकपाका १३ सांसद रहे पनि बहुमतका लागि साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने अवस्था रहेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको नयाँ राजनीतिक समीकरण र निर्देशनअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत समेटेर एक–दुई दिनभित्र सरकार पुनर्गठन तथा मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाइने बताएका छन्।

तपाईको प्रतिक्रिया