पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान बढाउन सरकारको विशेष सहुलियत
पोखरा, साउन ७
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उद्देश्यले सरकारले वायुसेवा कम्पनीहरूलाई विभिन्न शुल्कमा आकर्षक छुट दिने निर्णय गरेको छ। सरकारको यो कदमसँगै पोखराबाट थप अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सुरु हुने अपेक्षा गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। साथै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था पनि गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारको निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यसबाट नयाँ वायुसेवा कम्पनी भित्रिने, पर्यटन प्रवर्द्धन हुने, हवाई पहुँच विस्तार हुने तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ।
यसैबीच, फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी पूरा गरेको छ। दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले यस उडानले युरोप, अमेरिका लगायत विभिन्न मुलुक जाने नेपाली यात्रुलाई सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ भने फ्लाइ दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ। सिधा उडान सञ्चालन भएपछि यात्राको समय छोटिने र यात्रुहरूको खर्चसमेत घट्ने विश्वास गरिएको छ।
नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटकहरू पोखरासहित गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा सिधै पुग्न सक्नेछन्। साथै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि दुबई हुँदै अन्य मुलुक जाने यात्रुहरू पनि यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विशेष पहल गर्ने घोषणा गरेलगत्तै उक्त कम्पनीले उडान अनुमति प्राप्त गरेको हो।
करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। हालसम्म केही चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन नसकेको अवस्थामा सरकारको पछिल्लो निर्णयलाई पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको प्रमुख केन्द्र बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया