२०८३, भदौ १३ शनिबार
खेल/खेलाडी

एम्बाप्पे र यामाल फेरि आमनेसामने

प्रकाशित मिति: २०८३, असार ३० मंगलबार/ Tuesday 07-14-26

FIFA विश्वकप, असार ३० 
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स र स्पेनबीच आज राति डलासमा हुने बहुप्रतीक्षित भिडन्तमा दुई सुपरस्टार किलियन एम्बाप्पे र लामिन यामाल फेरि आमनेसामने हुँदैछन्। यी दुईबीचको प्रतिस्पर्धा अहिलेको विश्व फुटबलकै सबैभन्दा चर्चित व्यक्तिगत प्रतिस्पर्धामध्ये एक मानिन्छ। करियरमा उनीहरू ११औँ पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। यसअघि भएका १० भेटमध्ये यामालले आठ खेलमा जित हात पारेका छन्।

विश्वकपमा भने एम्बाप्पे र यामाल पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। यद्यपि क्लब र राष्ट्रिय टोलीबाट उनीहरू यसअघि नै १० पटक आमनेसामने भइसकेका छन्।

विश्वकप २०२६ मा एम्बाप्पे आठ गोल र तीन असिस्टसहित एडिडास गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। अर्जेन्टिनाका लियोनेल मेस्सी पनि आठ गोलसहित दोस्रो स्थानमा छन् भने नर्वेका एर्लिङ हालान्ड सात गोलसहित तेस्रो स्थानमा छन्।

राष्ट्रिय टोलीबाट एम्बाप्पे र यामाल दुई पटक आमनेसामने भएका छन् र दुवै खेल सेमिफाइनल थिए। युरो २०२४ को सेमिफाइनलमा स्पेनले म्युनिखमा फ्रान्सलाई २–१ ले पराजित गर्दा यामालले शानदार गोल गरेका थिए। त्यसको एक वर्षपछि यूईएफए नेसन्स लिग २०२५ को सेमिफाइनलमा जर्मनीको स्टुटगार्टमा फेरि यी दुई टोली भिडेका थिए। नौ गोल भएको रोमाञ्चक खेलमा स्पेन ५–४ ले विजयी भयो। यामालले दुई गोल गरे भने एम्बाप्पेले पनि एक गोल गरेका थिए। त्यसपछि स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले यामालको प्रशंसा गर्दै उनले आफ्नो क्षमताको बलियो सन्देश दिएको बताएका थिए।

एम्बाप्पे र यामाल पहिलो पटक १० अप्रिल २०२४ मा यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन र बार्सिलोनाबीच भएको खेलमा आमनेसामने भएका थिए। उक्त खेलमा दुवैले गोल गर्न नसके पनि बार्सिलोनाले ३–२ को अप्रत्याशित जित निकालेको थियो। दोस्रो लेगमा भने एम्बाप्पे चम्किए। उनले दुई गोल गर्दै पीएसजीलाई ४–१ को जित दिलाए र टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

जुन २०२४ मा एम्बाप्पे रियल म्याड्रिड पुगेपछि उनी र यामालबीच एल क्लासिकोमा छ पटक भेट भएको छ। स्पेनिस सुपरकोपा २०२५ मा बार्सिलोनाले ५–२ र २०२६ मा ३–२ को जित निकालेको थियो। २०२५ को कोपा डेल रे फाइनलमा पनि बार्सिलोनाले अतिरिक्त समयमा ३–२ को जित निकाल्दा एम्बाप्पेको फ्रिकिक गोल टोलीलाई हारबाट बचाउन पर्याप्त भएन।

ला लिगामा उनीहरू तीन पटक भिडेका छन्। पहिलो एल क्लासिकोमा रियल म्याड्रिड ४–० ले पराजित भयो। त्यसपछि अर्को भेटमा एम्बाप्पेले ह्याट्रिक गरे पनि रियल ४–३ ले हार्‍यो, जहाँ यामालले पनि एक गोल गरेका थिए। अक्टोबर २०२५ मा भएको पछिल्लो एल क्लासिकोमा भने एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई बार्सिलोनामाथि २–१ को जित दिलाए। यो बार्सिलोनाविरुद्ध उनको पहिलो ला लिगा जित थियो।

हालसम्म एम्बाप्पे र यामालबीच १० खेल भएका छन्, जसमा यामाल आठ खेलमा विजयी भएका छन्। व्यक्तिगत प्रदर्शनमा भने एम्बाप्पे अगाडि छन्। उनले यी खेलहरूमा नौ गोल गरेका छन् भने यामालले छ गोल गरेका छन्।

विश्वकप २०२६ मा यामालले लगातार छ खेल खेलेका छन्। यससँगै उनी १८ वर्ष वा सोभन्दा कम उमेरमा विश्वकपमा पाँचभन्दा बढी खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। यद्यपि उनले हालसम्म साउदी अरेबियाविरुद्ध समूह चरणमा गरेको एक गोल मात्र गरेका छन्। बेल्जियममाथिको क्वार्टरफाइनल जितपछि यामालले गोल गर्न नसक्दा आफूलाई कुनै निराशा नहुने बताएका थिए। उनले युरो २०२४ पनि एक गोल गर्दै जितेको स्मरण गराउँदै विश्वकप जितेपछि आफूले कति गोल गरेँ भन्ने कुरा धेरैले महत्व नदिने बताए।

उता एम्बाप्पे रुस २०१८ विश्वकपमा १९ वर्षका थिए। उनले सात खेलमा चार गोल गर्दै फ्रान्सलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस प्रतियोगितामा उनले उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका थिए।

अब डलासमा हुने विश्वकप सेमिफाइनलमा एम्बाप्पे आफ्नो हेड-टु-हेड रेकर्ड सुधार्ने लक्ष्यमा हुनेछन् भने यामाल पहिलो विश्वकपमै उपाधि जित्दै एम्बाप्पेको उपलब्धिसँग बराबरी गर्ने प्रयासमा हुनेछन्।
 

तपाईको प्रतिक्रिया