२०८३, भदौ १३ शनिबार
अर्थ/वित्त

नेपाल ‘ब्ल्याक लिस्ट’मा पर्ने जोखिम बढ्दो, तत्काल सुधार आवश्यक : अर्थमन्त्री वाग्ले

प्रकाशित मिति: २०८३, असार २० शनिबार/ Saturday 07-04-26

काठमाडौं, असार २०

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अहिले ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पुग्ने जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्। राष्ट्रियसभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आवश्यक सुधारका काम तत्काल अघि बढाउनुपर्ने बताएका हुन्।
उनका अनुसार नेपाल २०८१ फागुनदेखि ग्रे लिस्टमा रहेको छ। सुशासन, वित्तीय अनुशासन र कानुन कार्यान्वयनमा आवश्यक सुधार समयमै गर्न नसके मुलुक ब्ल्याक लिस्टमा पर्न सक्ने खतरा रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले ब्ल्याक लिस्टमा परे नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँगको सम्बन्धमा गम्भीर असर व्यहोर्नुपर्ने बताए। विदेशी लगानी भित्र्याउन, रेमिट्यान्स प्रणालीलाई सहज बनाउन तथा अन्तर्राष्ट्रिय विश्वास कायम राख्न सम्पत्ति शुद्धीकरणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु रहेको उल्लेख गरे। आवश्यक सुधारमा ढिलाइ भए देशको अन्तर्राष्ट्रिय साख कमजोर हुने र नेपाल हाइटी तथा सोमालियाजस्ता मुलुकको अवस्थासम्म पुग्ने जोखिम बढ्ने उनले चेतावनी दिए।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले सुशासनका विषयमा कडाइका साथ काम गरिरहेको दाबी गरे। सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम नबनाइने पनि उनले स्पष्ट पारे। साथै, वर्तमान सरकार गठन भएपछि नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने दिशामा उल्लेखनीय प्रगति भएको उनको दाबी छ।

तपाईको प्रतिक्रिया