अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, काबुलसहित विभिन्न क्षेत्रमा बलियो धक्का
काबुल, असार १४
अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ । राजधानी काबुल र अरू क्षेत्रमा पनि भूकम्पको ‘बलियो’ कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
अफगानिस्तानका विभिन्न प्रान्तमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । यूएसजीएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको जनाएको छ ।
भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए । एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् ।
बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यी प्रान्तका सीमा ताजिकिस्तान र पाकिस्तानसँग जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध हुन सकेको छैन । विशेष गरी हिन्दुकुश पर्वत शृंखलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन् ।
अप्रिलमा बदख्शान प्रान्तमा गएको ५.८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो र देशका धेरै भाग प्रभावित भएका थिए ।
यस्तै, सन् २०२५ अगस्टमा अफगानिस्तानको पूर्वी भागमा गएको ६.० म्याग्निच्युडको भूकम्पबाट पहाडी गाउँ ध्वस्त भएको थियो भने दुई हजार २०० भन्दा बढी मानिसको मृत्यु भएकोे थियो । त्यसको केही सातापछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २७ जनाको मृत्यु भएकोे थियो ।
सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पमा परी सयौँको मृत्यु भएको थियो । र, हजारौँ घर ध्वस्त भएका थिए । युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन् ।
पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो । अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ । रासस/एएफपी
तपाईको प्रतिक्रिया