बन्दीपुरमा निःशुल्क मुटु स्वास्थ्य शिविर, ४०१ जना लाभान्वित
तनहुँ,
बन्दीपुर अस्पतालमा सञ्चालन गरिएको निःशुल्क बृहत् मुटु स्वास्थ्य शिविरबाट ४०१ जना सेवाग्राही लाभान्वित भएका छन्।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजना तथा बन्दीपुर गाउँपालिकाको सह–आयोजनामा आयोजित शिविरमा मुटुसम्बन्धी स्वास्थ्य परीक्षण, ईको र ईसीजी सेवा प्रदान गरिएको थियो।
शिविरमा ४०१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। लाभान्वितमध्ये १८१ जना पुरुष र २२० जना महिला रहेका छन्। त्यस्तै, २२१ जनाले निःशुल्क ईको सेवा प्राप्त गरेका छन्। यसमध्ये १२१ जना पुरुष र १०० जना महिला रहेका छन्।
यस्तै, २९० जनाले निःशुल्क ईसीजी सेवा लिएका छन्। ईसीजी सेवा प्राप्त गर्नेमा १५० जना पुरुष र १४० जना महिला रहेका छन्।
शिविरका क्रममा आवश्यक परेका सेवाग्राहीलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो। साथै, आवश्यकताअनुसार ल्याब तथा एक्स–रे परीक्षणसमेत गरिएको आयोजकले जनाएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ मुटुरोग सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी बनेको बताइएको छ।
स्थानीयवासीले शिविरबाट गुणस्तरीय स्वास्थ्य सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया