बन्दीपुर निःशुल्क मुटु स्वास्थ्य शिविर हुने
साङ्केतिक तस्वीर
तनहुँ, असार ३
तनहुँको बन्दीपुर गाउँपालिकामा आगामी असार ६ गते बृहत् निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
मुटुरोगको समयमै पहिचान, उपचार तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, ललितपुर र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो।
शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बन्दीपुर अस्पतालमा सञ्चालन हुने शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ, मुटु तथा छाती रोग सर्जन र परामर्शदाता चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ।
शिविरमा मुटु स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा, रक्तचाप तथा रगतमा चिनीको मात्रा परीक्षण, इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्स–रे) तथा ईसीजी परीक्षण निःशुल्क रूपमा गरिने आयोजकले जनाएको छ।
शिविरमा वरिष्ठ परामर्शदाता मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, मुटु तथा छाती रोग सर्जन डा. प्रेमराज वैद्य, परामर्शदाता फिजिसियन डा. सत्यनारायण सुवाल, मुटुरोग विशेषज्ञ डा. अच्युतानन्दलाल कर्ण, डा. राधा भट्टराई, डा. एन्जेला वैद्य, डा. रामकिशोर शाह र डा. पराग कार्कीसहितको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नेछ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाको सहआयोजनासमेत रहेको छ। शिविर सञ्चालनका लागि समाजसेवी सन्तकुमार श्रेष्ठले विशेष पहल तथा समन्वय गरेका हुन्।
मुटुसम्बन्धी समस्या भएका, उच्च रक्तचाप, मधुमेह वा मुटुरोगको जोखिममा रहेका व्यक्तिहरूलाई शिविरबाट लाभ लिन आयोजकले आग्रह गरेका छन्।
ग्रामीण क्षेत्रमा विशेषज्ञ मुटु स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको यो शिविरबाट बन्दीपुर तथा आसपासका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया