२०८३, भदौ १३ शनिबार
स्वास्थ्य

भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

प्रकाशित मिति: २०८३, असार ३ बुधबार/ Wednesday 06-17-26

तनहुँ, असार ३

तनहुँको भानु नगरपालिकाले विशेषज्ञ चिकित्सकद्वारा तीनदिने निःशुल्क आयुर्वेद स्वास्थ्य परीक्षण तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै भानु नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई शिविरबाट लाभ लिन आग्रह गरेको छ।

शिविरमा हाडजोर्नी तथा नसासम्बन्धी समस्या, वातरोग, उदररोग, मूत्ररोग, पाइल्स, पिनास, दम, युरिक एसिड तथा स्त्रीरोगलगायतका विभिन्न रोगका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा–वडामा पुगेर शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

शिविर बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। निर्धारित कार्यक्रमअनुसार असार ९ गते मङ्गलबार वडा नं. १२ को कार्यालय, असार १० गते बुधबार वडा नं. १० को कार्यालय तथा असार ११ गते बिहीबार वडा नं. ३ को कार्यालयमा शिविर सञ्चालन गरिनेछ।

शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारसँगै ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा तथा शिशु स्वास्थ्यसम्बन्धी परामर्श सेवा र योग सेवा समेत प्रदान गरिने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार शिविर अवधिभर चिकित्सकले सिफारिस गरेका सम्पूर्ण आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ।

नगर प्रमुख आनन्दराज त्रिपाठीले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा गुणस्तरीय आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई सेवा लिन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया