कृषकलाई ९० प्रतिशत अनुदानमा कृषि तथा सिँचाइ सामग्री वितरण
तनहुँ, असार २
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडाका कृषकलाई कृषि उत्पादन वृद्धि र आधुनिक खेती प्रणालीमा सहयोग पुर्याउने उद्देश्यले कृषि तथा सिँचाइ सामग्री वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय तनहुँले गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत वार्षिक कार्यक्रममार्फत कृषकलाई सामग्री वितरण गराएको हो ।कृषि उद्यम विकास, रैथाने बाली प्रवर्द्धन, जलवायु मैत्री प्रविधि प्रवर्द्धन तथा निर्यातजन्य बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत घलडाँडा कृषक समूहलाई ९० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।
कार्यक्रममार्फत कृषक समूहका लागि सिँचाइ व्यवस्थापनमा सहयोग पुग्ने गरी ५ हजार लिटर क्षमताको एक थान हिल ट्याङ्क उपलब्ध गराइएको छ । यस्तै समूहमा आबद्ध २२ जना कृषकलाई ५ सय लिटर क्षमताका हिल ट्याङ्क, २० एमएम सिँचाइ पाइप, रैथाने बालीका विभिन्न बीउबिजन तथा एग्रिकल्चर स्प्रेयरलगायतका कृषि सामग्री प्रदान गरिएको छ ।
कृषकलाई सामग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेश सभा सदस्य तनहुँ क्षेत्र नं। १ ९क० का हरिबहादुर चुमानले कृषि क्षेत्रको विकासका लागि प्रविधि र आवश्यक सामग्रीको पहुँच विस्तार महत्वपूर्ण रहेको बताए। कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले पनि कृषकलाई उपलब्ध गराइएका सामग्रीको प्रभावकारी प्रयोगबाट उत्पादन र आम्दानी वृद्धि हुने विश्वास व्यक्त गरे ।
आँबुखैरेनी गाउँपालिका कृषि तथा पशु सेवा शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियार, आँबुखैरेनी कृषि तथा पशु सेवा शाखा प्रमुख सन्तोष केसी, कृषि प्रशासन अधिकृत दिनकरमणि आचार्य, कृषि प्राविधिक तारादत्त जोशी, घलडाँडा कृषक समूहका अध्यक्ष अस्मित गुरुङलगायत कृषकहरुको सहभागिता रहेको थियो ।
कृषकहरुले कृषि सामग्री पाएसँगै सिँचाइ सुविधा विस्तार, खेतीपातीमा सहजता र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
तपाईको प्रतिक्रिया