मुग्लिन–आँबुखैरेनी सडक र तनहुँ जलविद्युत् आयोजनाले बजेटमा प्राथमिकता पाए
तनहुँ जेठ १६
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत तनहुँ जिल्लाका पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक स्तरोन्नति, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन तथा पर्यटन विकासका कार्यक्रमलाई अगाडि बढाइने जानकारी दिनुभयो ।
बजेटअनुसार मुग्लिन–आँबुखैरेनी सडक निर्माण कार्य सुरु गरिनेछ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डलाई थप सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले स्तरोन्नतिको प्रक्रिया अघि बढाइने भएको हो । यस क्रममा मस्र्याङ्दी नदीको पारिपट्टि गोरखा क्षेत्रमा ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर रूपमा त्रिशूली किनार हुँदै मस्र्याङ्दी नदीको बायाँ तटबाट थप सडक विस्तारको योजना अघि सारिएको छ ।
त्यस्तै, राष्ट्रिय गौरवको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइने घोषणा गरिएको छ । १४० मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटा प्याकेजअन्तर्गत काम भइरहेको र हालसम्म ७५.५ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाइएको छ ।
ऊर्जा पूर्वाधार सुदृढीकरणका लागि न्यू दमौली प्रसारण लाइन निर्माणलाई पनि गति दिइने सरकारको योजना छ । यसबाट विद्युत् आपूर्ति प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने विश्वास गरिएको छ ।
पर्यटन क्षेत्रको विकासलाई ध्यानमा राख्दै सरकारले व्यास–छाब्दीबाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट मार्गमा परीक्षणका रूपमा साइकल ट्रेल निर्माण गर्ने कार्यक्रम समावेश गरेको छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस मार्गलाई साहसिक र ग्रामीण पर्यटनसँग जोडेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
साइकल ट्रेल निर्माणपछि तनहुँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू एउटै मार्गमार्फत जोडिने भएकाले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । बन्दीपुर, छिम्केश्वरी र देवघाटजस्ता चर्चित गन्तव्य समेटिएको यो मार्गले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाले साइकल ट्रेलले ग्रामीण पर्यटन विस्तार, होटल तथा आतिथ्य व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया