सुर्तीजन्य पदार्थ र मदिराको कर सिधै स्वास्थ्य बिमामा लगाउने तयारी
काठमाडौं, जेठ १०
सरकारले सुर्तीजन्य पदार्थ र मदिराबाट उठाइने करलाई स्वास्थ्य बिमा कार्यक्रममा सिधै प्रयोग गर्ने तयारी अघि बढाएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वस्वास्थ्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिइन् ।
उनका अनुसार सुर्ती, मदिरा तथा अन्य अस्वस्थकर खाद्यवस्तुमा लाग्ने करलाई स्वास्थ्य बिमा कोषमा सिधै जम्मा गर्ने गरी पुनर्संरचनाको काम भइरहेको छ । अहिले स्वास्थ्य बिमा कार्यक्रम कमजोर अवस्थामा पुगेकाले त्यसलाई बचाउन स्थायी लगानी स्रोत आवश्यक रहेको उनले बताइन् ।
डा. कार्कीले हानिकारक वस्तुबाट उठेको राजस्व स्वास्थ्य क्षेत्रमै खर्च गर्नु उपयुक्त र व्यवहारिक हुने उल्लेख गरिन् । उनले स्वास्थ्य बिमाको नयाँ मोडेल तयार गर्न पछिल्लो एक–डेढ सातादेखि अर्थसचिवसहित सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिइन् ।
आगामी बजेटमा यस्तो कर व्यवस्थालाई प्राथमिकतामा राखेर स्वास्थ्य बिमाको नयाँ ढाँचा ल्याउने विषयमा अर्थ मन्त्रालय सकारात्मक देखिएको उनले बताइन् । नयाँ नीतिको उद्देश्य स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाउ बनाउनुका साथै गरिब तथा विपन्न नागरिकको उपचार पहुँच सुनिश्चित गर्नु रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया