लुम्बिनी र सुदूरपश्चिममा बढ्दो गर्मी, मौसम विभागद्वारा सतर्क रहन आग्रह
काठमाडौँ, जेठ ९
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का विभिन्न क्षेत्रमा अझै केही दिन अत्यधिक गर्मी र तातो लहर (लु) जारी रहने चेतावनी दिएको छ। विभागले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने कतिपय ठाउँमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। यसले अत्यधिक गर्मीको जोखिम बढाएको जनाएको छ।
तातो लहरको प्रभाव बढी देखिन सक्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन्। त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा पनि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।अत्यधिक गर्मीका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने विभागको भनाइ छ।
विभागले गर्मीबाट जोगिन दिनको चर्को घाममा बाहिर ननिस्कन, सकेसम्म चिसो स्थानमा बस्न, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न र प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ। साथै स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया