भानु नगरपालिका–१ मा वडास्तरीय कृषि सञ्जाल गठन
तनहुँ, जेठ ७
भानु नगरपालिका वडा नं. १ मा कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रको समग्र विकास तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले वडास्तरीय कृषि सञ्जाल गठन गरिएको छ।
वडाका कृषकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा कृषकहरूले भोगिरहेका समस्या, कृषि क्षेत्रका सम्भावना तथा आवश्यकताका विषयमा सुझावसमेत संकलन गरिएको थियो।
कृषकहरूलाई संगठित, सशक्त तथा आधुनिक एवं व्यवसायिक कृषितर्फ उन्मुख गराउने लक्ष्यसहित वडास्तरीय कृषि सञ्जाल गठन गरिएको जनाइएको छ। कार्यक्रममा कृषि उत्पादन वृद्धि, बजारीकरण व्यवस्थापन, प्रविधिमैत्री खेती प्रणालीको विकास तथा कृषि क्षेत्रमा देखिएका चुनौतीहरूको समाधानका लागि कृषकहरूको साझा आवाजलाई सशक्त बनाउने विषयमा विशेष जोड दिइएको थियो।
सहभागीहरूले सञ्जालमार्फत कृषकहरूबीच अनुभव आदानप्रदान, सूचना प्रवाह तथा क्षमता विकाससम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
भेलाले ऋषि अधिकारीको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय कृषि सञ्जाल समिति चयन गरेको छ। समितिको सहसंयोजकमा भवानी त्रिपाठी, सचिवमा सारदा पिया, सहसचिवमा सविता अधिकारी तथा कोषाध्यक्षमा अन्जु बानियाँ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भगवान बोटे, अमृता तामाङ, निमा कुमारी भुजेल, रनसिंह तामाङ, सारदा कुमाल र सम्भु कुमार श्रेष्ठ रहेका छन्।
यसैगरी, सञ्जालको सल्लाहकार समितिमा वडा अध्यक्ष कान्छीमाया तामाङ, भानु नगर उद्योग वाणिज्य सङ्घका सभापति कृष्णकुमार श्रेष्ठ तथा समाजसेवी विष्णुप्रसाद मिश्र चयन भएका छन्।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कृषकहरूको उत्पादन वृद्धि, कृषि व्यवसाय प्रवर्द्धन, बजारीकरणको सहजता तथा कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
नवगठित सञ्जालले कृषकहरूको साझा हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै वडा नं. १ को कृषि विकासमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया