२०८३, भदौ १३ शनिबार
प्रदेश समाचार

फेवाताल संरक्षण र ऐतिहासिक सम्पदा पुनर्जीवनमा सरकारको जोड

प्रकाशित मिति: २०८३, बैशाख ३१ बिहीबार/ Thursday 05-14-26

काठमाडौँ बैशाख ३१

सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा संरक्षण र विकाससम्बन्धी विभिन्न योजनाले गति लिएका छन्। विशेषगरी फेवातालको जलाधार क्षेत्र संरक्षण, ऐतिहासिक सम्पदाको पुनर्निर्माण तथा शैक्षिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

फेवाताललाई पुरिने जोखिमबाट जोगाउन र यसको प्राकृतिक सौन्दर्य संरक्षण गर्न सम्बन्धित निकायहरूले सक्रिय रूपमा काम सुरु गरेका छन्। जलाधार क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने, पहिरो नियन्त्रण गर्ने तथा मुहान संरक्षण गर्ने लक्ष्यसहित सन् २०३१ सम्मको विस्तृत कार्ययोजना तयार पारिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलका अनुसार योजना परिमार्जन गरी कार्यान्वयनका लागि सम्बन्धित विभागमा सुझाव पठाइएको छ। १२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस संरक्षित क्षेत्रमा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।

यता, मुग्लिन–पोखरा सडक विस्तार आयोजनासँगै तनहुँ खण्डमा रहेका ऐतिहासिक मठमन्दिर, पाटीपौवा तथा पुराना संरचनाको पुनःनिर्माण सुरु भएको छ। सडक सीमाभित्र परेर विस्थापित भएका संरचनाको मौलिक स्वरूप जोगाउन आयोजनाले करिब २ करोड रुपैयाँ बजेट छुट्याएको छ। व्यास नगरपालिकास्थित ऐतिहासिक घाँसीकुवा र भानु–घाँसी पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ३ करोड रुपैयाँको गुरुयोजना अनुसार काम अघि बढाइएको छ।

यसैबीच, पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा १ करोड ९ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। क्याम्पस प्रमुख धर्मराज बरालका अनुसार चालु वर्षमा १४५ विद्यार्थीलाई १५ लाख ७४ हजार रुपैयाँभन्दा बढी छात्रवृत्ति वितरण गरिएको छ। विभिन्न दाताको सहयोगमा स्थापना भएको उक्त कोषले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई राहत पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया