२०८३, भदौ १३ शनिबार
कला/कलाकार

थालापति विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री

प्रकाशित मिति: २०८३, बैशाख २७ आइतबार/ Sunday 05-10-26

काठमाडौँ, बैशाख २७ —
दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता थालापति विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन्। उनको नेतृत्वमा रहेको ‘तमिलगा वेत्री कजगम’ (टिभीके) ले आवश्यक बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। विजयले आज (आइतबार) बिहान चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा टिभीकेले १०८ सिट जित्दै प्रमुख शक्तिका रूपमा उदाएको छ। विजय दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले एक सिट त्यागेपछि सदनको संख्या २३३ रहनेछ र बहुमतका लागि ११७ सिट आवश्यक पर्नेछ। कांग्रेसका ५ सिटसहित सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल लगायतका दलहरूको समर्थन पाएपछि विजयको पक्षमा कुल १२१ सिट पुगेको छ। मुख्यमन्त्री बनेपछि उनले आगामी १३ मेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सन् २०२४ मा पार्टी स्थापना गरेका विजयले ‘सिठ्ठी अभियान’ मार्फत आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए। उनले सत्तारुढ डीएमकेलाई राजनीतिक र भाजपालाई वैचारिक प्रतिद्वन्द्वी घोषणा गर्दै कुनै पनि प्रमुख दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिएका थिए। निर्देशक एस.ए. चन्द्रशेखरका छोरा विजयले बाल कलाकारबाट सुरु गरेको अभिनय यात्रालाई ‘थालापति’को लोकप्रिय छविसम्म पुर्‍याउँदै राजनीतिमा प्रवेश गरेको छोटो समयमै सत्ताको नेतृत्व सम्हाल्न सफल भएका हुन्।

यद्यपि, विजयको उदयसँगै राजनीतिक विवाद पनि सतहमा आएको छ। एएमएमके महासचिव टीटीभी दिनाकरनले टिभीकेले आफ्ना विधायकहरूलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै राज्यपालसमक्ष उजुरी दिएका छन्। साथै, उनले विजयमाथि नक्कली भिडियो सार्वजनिक गरेको आरोप लगाउँदै कानुनी कारबाहीको चेतावनी समेत दिएका छन्। विवादका बीच पनि तमिलनाडुमा आजदेखि थालापति विजयको नयाँ राजनीतिक अध्याय सुरु भएको चर्चा भइरहेको छ।

तपाईको प्रतिक्रिया