नेपालमा उत्पादन हुन थाल्यो ४२९६ मेगावाट बिजुली
काठमाडौ, बैशाख २६
नेपालमा कुल विद्युत् उत्पादन क्षमता ४,२९६ मेगावाट पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित विद्युत्का आधारमा यो क्षमता निर्धारण गरिएको हो। परीक्षण चरणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाबाट उत्पादित विद्युत् यसमा समावेश गरिएको छैन।
मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता ४,५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ। हाल ३,००० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने समान क्षमताका आयोजना निर्माणको तयारीमा रहेका छन्।
देशभर हालसम्म ६६ केभीभन्दा माथिका ७,३६० सर्किट किलोमिटर प्रसारण लाइन र १४,३२३ एमभिए क्षमताका सवस्टेसन निर्माण सम्पन्न भएका छन्। साथै, ३३ केभी क्षमताका ८,२२५ सर्किट किलोमिटर प्रसारण लाइन र ३,३०८ एमभिए क्षमताका सवस्टेसन निर्माण गरिएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सरकारी पहल र विशेष अभियानका कारण विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको छ। प्राविधिक सुधार र पूर्वाधार विस्तारमार्फत चुहावट थप घटाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
हाल प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ भने राष्ट्रिय प्रणाली र वैकल्पिक ऊर्जामार्फत ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ।
नेपालले हालसम्म २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ भने करिब ५९० गिगावाट घण्टा आयात गरेको छ। सौर्य ऊर्जाबाट ६२.७ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया