पोखरामा सवा २ अर्बको अत्याधुनिक रिसाइकल केन्द्र, ३ हजारलाई रोजगारी लक्ष्य
काठमाडौँ, बैशाख १९
कास्कीको पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउने लक्ष्यसहित करिब सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल तथा अपसाइकल केन्द्र निर्माण गरिरहेको छ।
नयाँ बजार प्रदर्शनी केन्द्र परिसरमा निर्माण भइरहेको यस केन्द्रले झन्डै ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ। महानगरका मेयर धनराज आचार्यका अनुसार केन्द्रलाई केवल फोहोर प्रशोधनमा सीमित नराखी नयाँ सामग्री उत्पादन तथा चक्रीय अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने सिकाइ केन्द्रका रूपमा विकास गरिनेछ।
परियोजना दक्षिण कोरियाली सरकारको करिब २ अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ भने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र कोइका साझेदार संस्थाका रूपमा संलग्न छन्। कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा परियोजना कार्यालय स्थापना गरी स्थानीय तहसँग सहकार्य गर्दै काम अगाडि बढाइएको छ।
महानगरले परियोजनाको प्रभावकारिता बढाउन वडा तहमा सामुदायिक समूह गठन गरेको छ। ती समूहलाई आवश्यक प्राविधिक उपकरण तथा सामग्री उपलब्ध गराउँदै स्थानीय सहभागिता सुनिश्चित गरिएको मेयर आचार्यले जानकारी दिएका छन्।
यस पहलले फोहोर व्यवस्थापनमा सुधार ल्याउने मात्र होइन, स्थानीय स्तरमै रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने विश्वास गरिएको छ। साथै, परियोजनाले विशेषगरी नकुहिने फोहोर प्रशोधन गरी त्यसबाट उपयोगी नयाँ सामग्री उत्पादन गर्ने लक्ष्य राखेको छ।
तपाईको प्रतिक्रिया